अब नेपाल प्रविधिको उपभोक्ता मात्र होइन, निर्माता बन्ने बाटोमा छ।

नेपाल अहिले एउटा रोमाञ्चक र ऐतिहासिक मोडमा उभिएको छ। लामो समयको राजनीतिक निराशालाई चिर्दै बालेन शाहको नेतृत्वमा बनेको नयाँ सरकारले देशमा एउटा बेग्लै ऊर्जा र सम्भावनाको सञ्चार गरेको छ। यो परिवर्तन केवल सिंहदरबारको प्रशासनिक सुधारमा मात्र सीमित छैन। यसले हाम्रो अर्थतन्त्र, शिक्षा र प्रविधि क्षेत्रलाई हेर्ने दृष्टिकोणमै युगान्तकारी परिवर्तन ल्याएको छ। यस रूपान्तरणको केन्द्रमा कृत्रिम बौद्धिकता रहेको छ। कृत्रिम बौद्धिकता अब केवल प्रविधि प्रेमीहरूको गफ गर्ने विषय रहेन। यो गरिबी र पछौटेपन हटाएर नेपाललाई विश्व बजारसँग जोड्ने सबैभन्दा शक्तिशाली औजार बनिसकेको छ।
कुनै समय नेपालमा कृत्रिम बौद्धिकतालाई भविष्यको महँगो विषय भनेर पन्छाइन्थ्यो। तर नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको आगमनसँगै शिक्षा प्रणालीमा एउटा स्पष्ट दूरदृष्टि देखिएको छ। काठमाडौं महानगरपालिकामा हुँदा शिक्षा र प्रविधिलाई जोड्न उहाँले खेलेको भूमिका र हालै विद्यालय स्तरदेखि नै सूचना प्रविधि, कृत्रिम बौद्धिकता र स्वास्थ्यलाई पाठ्यक्रममा जोड्ने उहाँको प्रतिबद्धताले ठूलो आशा जगाएको छ। यसले हाम्रो शिक्षा प्रणालीलाई सुधार गरेर भोलिको आधुनिक संसारका लागि जनशक्ति तयार गर्ने बलियो जग खडा गर्दैछ। सहर र गाउँबीचको विद्युतीय पहुँचमा रहेको खाडल पुर्न अब सरकारी तवरबाटै काम सुरु हुने संकेतहरू देखिन थालेका छन्। हामीसँग युवाहरूको ऊर्जा त थियो तर अब त्यसलाई सही दिशा दिने संस्थागत इच्छाशक्ति र प्रविधिमैत्री नेतृत्व पनि तयार भएको छ।
नेपालमा कृत्रिम बौद्धिकताको प्रयोग केवल विदेशी सफ्टवेयर आयात गर्नमा सीमित छैन। आज नेपाली युवा र कम्पनीहरू आफैँ नवीन खोजको नेतृत्व गरिरहेका छन्। हाम्रै माटोमा हुर्किएका फ्युजमेसिन्स र लिपफ्रग जस्ता कम्पनीहरूले विश्वस्तरिय परियोजनाहरूमा काम गरिरहेका छन्। अझ रोचक कुरा त के छ भने नेपालमा अहिले स्वतन्त्र विकासकर्ता र साना सफ्टवेयर सेवाहरू निर्माण गर्ने सँस्कृति तीव्र गतिमा फस्टाउँदैछ। विकासकर्ताहरू अब विदेशी कम्पनीको काम मात्र गर्दैनन्। उनीहरू नेपाली बजारकै लागि नेपालमै निर्मित सफ्टवेयरहरू निर्माण गरिरहेका छन्। जसमा विक्रम संवत् र नेपाली चाडपर्वहरूलाई समेटिएका स्थानीय बुकिङ प्रणाली वा नेपाली भाषाका आफ्नै प्रकाशन माध्यमहरू पर्दछन्। यसले प्रतिभा पलायन रोक्ने मात्र होइन स्वदेशमै बसेर विश्वव्यापी प्रणाली निर्माण गर्ने बाटो खोलेको छ।
हामीले अठारौं शताब्दीको औद्योगिक क्रान्ति गुमायौं होला तर वर्तमान प्राविधिक क्रान्तिमा हामी एकैचोटि ठूलो फड्को मार्ने अवस्थामा छौं। यस क्षेत्रमा दक्ष जनशक्तिको माग र तलब अन्य सूचना प्रविधि क्षेत्रको तुलनामा अत्यधिक छ। नेपाली युवाले आफ्नै देशमा बसेर उत्कृष्ट आम्दानी गर्न सक्छन्। हाम्रा अगाडि पूर्वाधारको अभाव, महँगा उपकरण, पुरानो पाठ्यक्रम र द्रुत इन्टरनेटको पहुँच जस्ता चुनौतीका पहाडहरू छन्। तर नयाँ सरकारको पारदर्शी कार्यशैली र नतिजामुखी लक्ष्यले यी समस्याहरू समाधान हुने विश्वास बढाएको छ। नेपाललाई विश्वव्यापी कृत्रिम बौद्धिकता केन्द्र बनाउन अब हामीले राष्ट्रिय नीति निर्माण, अनुसन्धानका लागि विशेष बजेटको व्यवस्था र उद्योग तथा शिक्षण संस्थाबीचको सहकार्यमा जोड दिनुपर्छ।
नेपालमा नवीन प्रविधिको बीउ मात्र रोपिएको छैन, यसलाई हुर्काउन अत्यन्तै अनुकूल मौसम पनि जुरेको छ। अबको प्रश्न हामीले विश्वको प्रविधि प्रयोग गर्ने सामान्य उपभोक्ता मात्र बन्ने कि नयाँ प्रविधि निर्माण गर्ने सर्जक बन्ने भन्ने हो। यदि बालेन सरकारको गतिशीलता, शिक्षामन्त्रीको दूरदृष्टि र हाम्रा प्रविधि कम्पनीहरूको असीमित क्षमतालाई सही दिशा दिने हो भने नेपालले प्रविधिको क्षेत्रमा विश्वलाई चकित पार्न सक्छ। समयले कसैलाई पर्खिँदैन तर यसपटक नेपाल समयभन्दा एक कदम अगाडि हिँड्न तयार देखिन्छ।
Responses (0)